Tuesday, March 16, 2010

३ चैत, काठमाण्डौ । लक्ष्मणपुर बाँधले नेपाललाई ठूलो असर पारेको भन्दै
व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार
समितिले बाँध भत्काउनुपर्ने निष्कर्ष निकालेको छ ।
समितिले सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरेर थप बाँधका कारण थप
क्षति हुनबाट जोगाउन भत्काउनुपर्ने निष्कर्ष निकालेको छ । यस्तै समितिले
नेपालको धेरै सिमानाको दशगजा भारतीय पक्षले अतिक्रमण गरेको भन्दै सिमा
मिचिने क्रम बढिरहेको ठहर पनि गरेको छ ।
कालापनीमा विवाद नभएको भन्ने उपप्रधानमन्त्री सुजातका कोइरालाको भनाईको
खण्डन गर्दै समितिका सभापति पद्मलाल विश्वकर्माले सिमा क्षेत्रमा भारतका
सिमा सुरक्षा बल एसएसबीले निकै दुःख दिने गरेको जानकारी दिनुभयो । सिमाका
महिलाहरू सधै असुरक्षित हुनुपरेको भन्दै उहाँले सिमामा बजारका लागि धेरै
ठाउँमा भारतका बजारमा निर्भर रहनुपर्ने बाध्यता रहेकाले नेपालीले अझै दुःख
पाएको बताउनुभयो ।
स्थलगत अनुगमनको क्रममा सिमा स्तम्भलाई नै घेरेर घर बनाईएको र कतिपय
ठाँउमा पुरानो सिमा स्तम्भहरु हटाएर नयाँ बनाउने काम समेत भएको पाएको भन्दै यस विषयमा समितिले छिटै सरकारी पक्षलाई बोलाएर ध्यानाकर्षण गराउने उहाँले
जानकारी दिनुभयो ।
सिमा क्षेत्रमा स्थलगत अनुगमनपछि समितिले मंगलबार पत्रकार सम्मेलन गरेर
जानकारी गराएको हो ।